काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जेन-जी आन्दोलनपछिको विषम पूर्ण राजनीतिक परिस्थिति र छोटो समयका बाबजुद पनि १९औँ अधिवेशनले महत्त्वपूर्ण काम गर्न सफल भएको बताएका छन् ।
आज बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष दाहालले यो अधिवेशन समयका हिसाबले निकै छोटो तर कामका हिसाबले महत्त्वपूर्ण र भविष्यमा पनि गर्व गर्न लायक रहेको बताए ।
राष्ट्रियसभाको १९औँ अधिवेशनको पहिलो बैठक गत माघ ४ गते बसेको थियो । जम्मा २७ दिन चालु रहेको यो अधिवेशनमा नौवटा बैठक बसी १७ घण्टा २५ मिनेट समय सभाका काममा व्यतीत गरेको अध्यक्ष दाहालले बताए ।
यो अधिवेशनमा सात वटा बैठकका शून्य समयमा २९ जना सदस्यले ४८ मिनेट र तीन वटा बैठकका विशेष समयमा १५ जना सदस्यले तीन घण्टा ३९ मिनेट समय उपयोग गरेको उनले बताए । यो अधिवेशनमा एउटा बैठकमा प्रादेशिक सरोकार समय रहेको थियो ।
राष्ट्रियसभाको १९औँ अधिवेशन शुक्रबार राति १२ः०० बजेदेखि अन्त्य हुँदैछ ।