काठमाडौँ । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावमा उठेका विभिन्न राजनीतिक दलका ४ सय ५४ जना उम्मेदवारहरूले चुनावी प्रयोजनका लागि आफ्नो अलग्गै बैंक खाता खोलेका छन् । आयोगका प्रवक्ता नारायण भट्टराईले हालसम्म ४ सय ५४ जना उम्मेदवारले चुनाव प्रचारप्रसारका लागि अलग्गै बैंक खाता खोलेको जानकारी दिएका छन् ।
शुक्रबार आयोजित 'निर्वाचन र आमसञ्चार' विषयक मुख्य प्रशिक्षक प्रशिक्षण कार्याशालामा प्रवक्ता भट्टराईले उक्त जानकारी दिएका हुन् । चुनावमा प्रत्यक्षतर्फका उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्वाचन आयोगले तोकेपछि खर्चमा पारदर्शिता देखाउन उम्मेदवारहरूले चुनावी बैंक खाता खोलेका हुन् ।
प्रतिनिधिसभाका उम्मेदवारहरूले निर्वाचन खर्चमा मतदाता नामावली खरिद, सवारीसाधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचारप्रसार ९छापा एवं विद्युतीय माध्यम, सामाजिक सञ्जालसमेत०, कार्यालय सञ्चालन र प्रतिनिधि परिचालनलगायतका विषयमा खर्च गर्न पाउनेछन् ।