काठमाडौं : झापाबाट काठमाडौं फर्कन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि समर्थकहरू ठूलो संख्यामा उपस्थित हुन सक्ने आकलनपछि विमानस्थल क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। विभिन्न समूहले समर्थकलाई उपस्थित हुन आह्वान गरेपछि सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको हो।
पूर्वराजा शाह करिब दिउँसो १ बजे हेलिकोप्टरमार्फत काठमाडौं आइपुग्ने कार्यक्रम रहेको जनाइएको छ। स्वागतका नाममा भीडभाड र शक्ति प्रदर्शन हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै विमानस्थल वरपर विशेष निगरानी बढाइएको अधिकारीहरूले बताएका छन्।
जिल्ला प्रशासन कार्यालयले विमानस्थल क्षेत्रलाई संवेदनशील मान्दै एक महिनाका लागि निषेधाज्ञा जारी गरिसकेको छ। नारा–जुलुस वा अवाञ्छित गतिविधिबाट सुरक्षा चुनौती उत्पन्न हुन सक्ने भएकाले यस्तो निर्णय गरिएको प्रशासनको भनाइ छ। भीडभाडका क्रममा घुसपैठको जोखिम हुन सक्ने मूल्यांकन पनि गरिएको छ।
सुरक्षा निकायका अनुसार पछिल्लो समय केही समूहका गतिविधिलाई नजिकबाट नियालिएको छ। काठमाडौं प्रहरीका अधिकारीहरूले विमानस्थलभित्र कुनै पनि प्रकारका कार्यक्रम वा प्रदर्शन गर्न नदिने तर बाहिरी क्षेत्रमा शान्तिपूर्ण उपस्थितिलाई व्यवस्थापन गर्ने गरी तयारी गरिएको बताएका छन्।