काठमाडौं : अमेरिकी कङ्ग्रेसका दक्षिण तथा मध्य एसिया उपसमितिका अध्यक्ष बिल हुइजेन्गाले हालैका राजनीतिक परिवर्तनपछि नेपाल र बंगलादेशमा हुन लागेका तथा सम्पन्न भएका निर्वाचनले दक्षिण एसियामा अमेरिकी संलग्नताका लागि नयाँ ढोका खोल्ने बताएका छन्।
दक्षिण एसियासम्बन्धी अमेरिकी परराष्ट्र नीतिमा केन्द्रित सुनुवाइको उद्घाटन सत्रमा उनले यी दुई मुलुक परिवर्तनको चरणबाट गुज्रिरहेको उल्लेख गरे। बंगलादेशमा २०२४ को विद्रोहपछि पहिलो आम निर्वाचन सम्पन्न भएको र नेपालमा फागुन २१ मा मतदान तय भएको सन्दर्भ जोड्दै उनले नयाँ राजनीतिक अध्याय सुरु भएको धारणा राखे।
उनका अनुसार यी प्रक्रियाले नयाँ सरकारहरूसँग अमेरिकाको सम्बन्ध कसरी अघि बढ्छ भन्ने आधार तय गर्नेछ। युवा जनसङ्ख्याको आकांक्षा, लोकतान्त्रिक मूल्य र आर्थिक सम्भावनाले क्षेत्रलाई थप गतिशील बनाएको उनको भनाइ थियो।
हुइजेन्गाले दक्षिण तथा मध्य एसियालाई विश्व अर्थतन्त्र र सुरक्षा सन्तुलनका दृष्टिले महत्वपूर्ण क्षेत्रका रूपमा चित्रण गरे। हिन्द महासागर क्षेत्र विश्व व्यापार र ऊर्जा आपूर्तिको प्रमुख मार्ग रहेको उल्लेख गर्दै त्यसको स्वतन्त्रता र सुरक्षालाई अमेरिकाले प्राथमिकतामा राख्ने बताए।
चीनले साना राष्ट्रहरूमाथि ऋणमार्फत प्रभाव विस्तार गर्न खोजेको आरोप लगाउँदै उनले साझेदार देशहरूसँग सहकार्य बढाएर त्यसलाई सन्तुलनमा राख्नुपर्ने धारणा व्यक्त गरे। भारतलाई प्रमुख रणनीतिक साझेदारका रूपमा उल्लेख गर्दै रक्षा, व्यापार र प्रविधि क्षेत्रमा सहकार्य विस्तार गर्ने अमेरिकी प्रतिबद्धता दोहोर्याए।
अब अमेरिका कसरी र कति सक्रिय रूपमा क्षेत्रसँग जोडिन्छ भन्ने कुराले आगामी दशकहरूमा एसियामा उसको भूमिकालाई निर्धारण गर्ने उनको निष्कर्ष थियो।