काठमाडौँ । मर्स्याङ्दी गाउँपालिका ९ सिद्धथानमुनिको जंगलमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ग१ज ५०६५ नम्बरको जीप कहोलासोथार गाउँपालिका–४ भुजुङबाट मृचेगाउँ हुँदै सदरमुकार बेँसीसहर झर्ने क्रममा बुधबार बिहान करिब १० बजेतिर दुर्घटनामा परेको हो ।दुर्घटनामा ७ जना घाइते भएका छन् । तीमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । तीनजनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक पाण्डेले जानकारी दिए ।
प्रहरीका अनुसार दुर्घटनामा भुजुङका ७४ वर्षीया मलकुमारी गुरुङको बेँसीसहरस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकका श्रीमान ८० वर्षीय आइतराम गुरुङ गम्भीर घाइते अवस्थामा छन् । ५० वर्षीया काली गुरुङ, २७ वर्षीया स्मृति गुरुङ, २२ वर्षीया एलिना गुरुङ, मर्स्याङ्दी गाउँपालिका–९ का ३१ वर्षीय आर्यन गुरुङ, बेँसीसहर नगरपालिका–५ की २२ वर्षीया रितु गुरुङ र २० वर्षीया कृपा गुरुङ प्रादेशिक अस्पतालमा उपचाररत छन् । घुम्ती सडकमा मोड नपुग्दा जिप फर्काउने क्रममा चिप्लिएर सडकबाट करिब ५०(६० मिटर तल खसेको थियो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।