काठमाडौं । अख्तियार प्रमुख प्रेमकुमार राई सहितका हाई प्रोफाइललाई हत्या गर्ने धम्की दिने प्रकाश पाठकलाई नेपाल ल्याइएको छ।
अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को सहयोगमा फिलिपिन्समा पक्राउ परेका पाठकलाई बुधबार नेपाल ल्याइएको हो ।
पाठकले अख्तियार प्रमुख राईसहित १० जनालाई ज्यान मार्ने धम्की दिएका थिए। सामाजिक सञ्जाल फेसबुकमा भिडियो र अडियो सन्देश पोस्ट गरेर धम्क्याउँदै उनी भारत, इन्डोनेसिया हुँदै फिलिपिन्स पुगेका थिए ।
धम्कीसहितको पत्र अख्तियारमै पुगेको र भिडिओसमेत सार्वजनिक भएपछि अख्तियारले अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाण्डुमा जाहेरी दिएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धानको क्रममा उनी फिलिपिन्समा रहेको पत्ता लगाउँदै नेपाल ल्याउनका लागि इन्टरपोल शाखामार्फत प्रक्रिया अगाडी बढाएको थियो। उनलाई पुस १६ गते फिलिपिन्सको राजधानी मनिलामा पक्राउ गरिएको थियो। पाठकलाई लिन नेपाल प्रहरीको टोली फिलिपिन्स पुगेको थियो।
उनले लोकमानसिंह कार्की, गोपालबहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा,ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी र दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिएका थिए । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं हिरासतमा राखेर अनुसन्धान अगाडी बढाउने तयारी गरेको छ ।