सल्यान । सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलमा पिकअप जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। रुकुमपूर्वको सिस्ने गाउँपालिकाबाट दाङतर्फ जाँदै गरेको ग १ ज ३५६१ नम्बरको जिप आज बिहान दुर्घटनामा परेको हो।
दुर्घटनामा सिस्ने गाउँपालिका–४ अमलाचौरका ३१ वर्षीय विजय विश्वकर्माको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। उनी जिप चालक रहेको प्रहरी चौकी कपुरकोटले जानकारी दिएको छ।
बिरामी बोकेर हिँडेको जिपमा चालकसहित चार जना सवार थिए। बिहान करिब पौने पाँच बजेतिर जिप अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक जानकारी छ।
दुर्घटनामा सिस्ने गाउँपालिका–२ नाइघाटकी २२ वर्षीया सुष्मी रोका, ४० वर्षीया ललिता केसी र १८ महिनाकी बालिका सफलता केसी घाइते भएका छन्। उनीहरूलाई उद्धार गरी कपुरकोट गाउँपालिकाको आधारभूत अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि दाङको तुलसीपुर पठाइएको प्रहरीले जनाएको छ।