काठमाडौँ । रामेछापको मन्थली नगरपालिका–६ त्रिवेणीघाटस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा परी मृत्यु हुने र घाइतेहरुको पहिचान खुलेको छ ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार मृत्यु हुनेहरुमा ७ पुरुष र ५ महिला गरी १२ जना रहेका छन् भने ८ जना घाइते भएका छन् । थापाका अनुसार दुर्घटनामा मृत्यु हुनेमा विशाल सुनुवार, भीमबहादुर तामाङ, बवि तामाङ, दिपेश बस्नेत, सानुमाया तामाङ, तारा तामाङ, मानबहादुर तामाङ, मनकुमारी बरुवाल,शिव श्रेष्ठ,रमिता तामाङ र दीपेन्द्र बस्नेत रहेका छन् ।
थापाका अनुसार दुर्घटनामा परी घाईते हुनेको संख्या ८ पुगेको छ । घाईते हुनेहरुमा रामेछाप जिल्लाको मन्थली नगरपालिका–१२ बस्ने ३३ वर्षिय देवकी खड्का, सोही नगरपालिका–११ बस्ने ३१ वर्षिय सुशान्त थापा मगर, उमाकुण्ड नगरपालिका–५ बस्ने ५२ वर्षिय सोनातेन्जी शेर्पा, ६ वर्षिया निष्मा शेर्पा, लिखुतामाकोशी गाउँपालिका–४ बस्ने ७१ वर्षिय ओलक बहादुर थापा, खाँडादेवी गाउँपालिका–३ बस्ने २१ वर्षिय समिर श्रेष्ठ, दोलखा जिल्लाको भिमेश्वर नगरपालिका–७ बस्ने १७ वर्षिया निलिमा तामाङ्ग र ओखलढुंङ्ग जिल्लाको खिजिदेम्वा गाउँपालिका–२ बस्ने ४५ वर्षिय जयबहादुर तामाङ्ग छन् ।
घाइते भएकाहरुमध्ये ७ जनालाई थप उपचारको लागि धुलिखेल अस्पताल काभ्रे पठाईएको छ भने चालक सुशान्त थापा मगरको तामाकोशी अस्पताल मन्थलीमा सामान्य उपचार पश्चात डिस्चार्ज गरिएको छ ।
काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको अरनीको यातायातको प्रदेश ०३–०१–९९५ ख ९९७५ नम्बरको बस रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको थियो।सो यात्रुवाहक बसमा कति जना सवार थिए भने अझै खुल्न सकेको छैन । दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल गुल्म रामेछाप र विपद् व्यवस्थाप बेश खुर्कोटबाट गोताखोरसहित नेपाल प्रहरीको संयुक्त टोली उद्धार कार्यमा खटिएको छ ।