काठमाडौँ । देशभरि सुर्तीजन्य पदार्थ सेवनमा पनि महिलाको तुलनामा पुरुषहरू अगाडि देखिएका प्रतिवेदनले औँल्याएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमवार सार्वजनिक गरेको प्रतिवेदनअनुसार १५-४९ वर्ष उमेर समूहका ५.१ प्रतिशत महिलाले सर्वेक्षणभन्दा अघिल्लो महिनामा सुर्तीजन्य पदार्थ सेवन गरेको पाइएको छ।
अर्कोतर्फ सोही उमेर समूहका ४१.८ प्रतिशत पुरुषले सुर्तीजन्य पदार्थ सेवन गरेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार ७.६ प्रतिशत पुरुष र २.१ प्रतिशत महिलाले १५ वर्षअगावै एक खिल्ली चुरोटरबिँडी पूरै सेवन गरेको पाइएको छ। तनावलगायतका कारणले त्यस्ता पदार्थको सेवन महिलाभन्दा पुरुषले तुलनात्मक रूपमा बढी गरेको हुन सक्ने कतिपयको धारणा रहेको पाइन्छ।
तथ्याङ्क कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार नयाँ पुस्तामा त्यस्ता अम्मलहरूप्रति आकर्षण बढ्नुको कारणबारे अध्ययन गर्न पनि आवश्यक रहेको बताए । स्वास्थ्य बीमा गराउनेमा पनि महिलाको सङ्ख्याभन्दा पुरुषको धेरै रहेको देखिएको छ। प्रतिवेदनअनुसार १५-४९ वर्ष उमेर समूहका १७.८ प्रतिशत महिला र १९.६ प्रतिशत पुरुषले स्वास्थ्य बीमा गरेको पाइएको छ।
पाँचदेखि १७ वर्ष उमेर समूहका १५.० प्रतिशत बालबालिकाले र पाँच वर्षमुनिका ११.७ प्रतिशतले स्वास्थ्य बीमा गराएको पाइएको छ।