काठमाडौं। नेपालमा नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेको पाइएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षणअनुसार सुदूरपश्चिममा प्रति हजार जीवित जन्ममा २६ जना नवजात शिशुको मृत्यु हुने गरेको छ । सबैभन्दा कम नवजात शिशु मृत्युदर बागमती प्रदेशमा रहेको छ, जहाँ प्रति हजार जन्ममा १० जनाको मृत्यु हुने गरेको छ ।
शिशु मृत्युदर (एक वर्षमुनिका) पनि सुदूरपश्चिम प्रदेशमै उच्च देखिएको छ । तथ्याङ्क अनुसार सुदूरपश्चिममा प्रति हजार जन्ममा ३८ जना शिशुको मृत्यु हुन्छ भने बागमती प्रदेशमा यो दर सबैभन्दा कम १७ रहेको छ ।
त्यस्तै, पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर पनि सुदूरपश्चिममै सबैभन्दा बढी छ । सुदूरपश्चिममा प्रति हजार जन्ममा ४८ जना बालबालिकाको मृत्यु हुँदा सबैभन्दा कम गण्डकी प्रदेशमा २० जना मात्र रहेको सर्वेक्षणले देखाएको छ ।
समग्र रूपमा नेपालमा एक वर्ष उमेर नपुग्दै मृत्यु हुने शिशुहरूको सङ्ख्या प्रति हजार जन्ममा २७ रहेको छ । पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ३१ र नवजात शिशुको (एक महिनाभित्र) मृत्युदर १७ रहेको तथ्याङ्कमा उल्लेख छ । सर्वेक्षणअनुसार नेपालको कुल प्रजनन दर १५-४९ वर्ष समूहका प्रति महिलामा औसत १.९ जीवित बच्चा रहेको छ ।
बाल पोषणतर्फ हेर्दा, पाँच वर्षमुनिका बालबालिकामध्ये २४.३ प्रतिशत कम तौलका र ३१.५ प्रतिशत कम उचाइका रहेका छन् । उचाइअनुसार तौल कम भएका बालबालिका ७.६ प्रतिशत छन् । उमेरअनुसार तौल कम हुने समस्या सबैभन्दा बढी मधेश प्रदेशमा ३३.२ प्रतिशत देखिएको छ भने सबैभन्दा कम बागमती प्रदेशमा ९.६ प्रतिशत मात्र रहेको छ ।
स्तनपानको सन्दर्भमा, तीनमध्ये दुई जना आमाले मात्र आफ्ना बच्चालाई जन्मदेखि ६ महिनासम्म आमाको दूध खुवाउने गरेको पाइएको छ । यो दर सुदूरपश्चिममा सबैभन्दा बढी ७६.६ प्रतिशत, त्यसपछि मधेशमा ७२.३ प्रतिशत र कर्णालीमा ७१.६ प्रतिशत रहेको छ ।
त्यस्तै, १२–२३ महिनाका ८०.७ प्रतिशत बालबालिकाले मात्र पहिलो वर्षमै सबै खोप पूरा गरेको देखिएको छ ।
३६–५९ महिनाका बालबालिकामध्ये ५७.९ प्रतिशत मात्र प्रारम्भिक बालशिक्षा कार्यक्रममा सहभागी हुने गरेको सर्वेक्षणले देखाएको छ ।