काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा जिम्बावेले ओमानलाई हराउँदै विजयी शुरुआत गरेको छ ।
श्रीलङ्काको कोलम्बोमा रहेको सिंहाली स्पोर्ट्स क्लब क्रिकेट मैदानमा आज भएको खेलमा जिम्बावेले ओमानलाई ८ विकेटले हरायो । ओमानले दिएको १ सय ४ रनको लक्ष्य जिम्बावेले १३ ओभर ३ बलमा २ विकेट गुमाएर भेटायो । जिम्बावेका ब्रायन बेनेटले नटआउट ४८ रन बनाए । ओमानका सुफयान महमूदले २ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको ओमानले १९ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ३ रन बनायो । ओमानका विनायक शुक्लाले २८ रन बनाए । जिम्बावेका रिचर्ड नागराभा, आशीर्वाद मुजरबानी र ब्राड इभान्सले ३/३ विकेट लिए । यो जीतसँगै जिम्बावेले समूह ‘बी’ मा २ अङ्क जोडेको छ ।
प्रतियोगितामा २० वटा टोली चार वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली ‘सुपर–एट’ मा पुग्नेछन् । ‘सुपर–एट’ मा चार–चार वटा टोली दुई समूहमा बाँडिनेछन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । १०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ मा हुनेछ ।