काठमाडौँ । स्कटल्यान्डले आईसीसी पुरुष टी– २० विश्वकपमा इटालीविरुद्ध ७३ रनको सहज जित दर्ता गरेको छ । कोलकाताको इडेन गार्डेन्समा इटालीले प्रस्तुत गरेको २०८ रनको लक्ष्य पछ्याएको इटाली १६.४ ओभरमा १३४ रनमै समेटियो ।
इटालीका लागि बेन्जामिन मानेन्टीले ३१ बलमा ५ चौका र १ छक्काको मद्दतले सर्वाधिक ५२ रनको योगदान गरे । यसैगरी, ह्यारी मानेन्टीले ३७, जेजे स्मट्सले २२ र एन्थोनी मोस्काले १३ रन बनाए ।स्कटल्यान्डका लागि माइकल लिस्कले ४, मार्क वाटले २ तथा ब्राडली करी, ब्राड ह्विल र ओलिभर डेविडसनले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०७ रनको योगफल तयार पारेको थियो ।स्कटल्यान्डका लागि मुन्सेले ५४ बलमा १३ चौका र २ छक्काको मद्दतले सर्वाधिक ८४ रनको योगदान गरे । यसैगरी, ब्रेन्डन म्याकमुलनले अविजित ४१, माइकल जोन्सले ३७, माइकल लिस्कले अविजित २२ र कप्तान रिची बेरिङटनले १५ रन बनाए ।
इटालीका लागि थोमस ड्राका, अली हसन, ग्रान्ट स्टिवर्ट र जेजे स्मट्सले १–१ विकेट लिए । जितसँगै समूह ‘सी’ को स्टकल्यान्डले २ खेलमा २ अंक जोडेको छ । इटालीले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।