खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा बिहे भोज खाँदा बिरामी परेका अधिकांश स्थानीय निको भएका छन् । दिप्लुङमा माघ २१ गतेको विवाह भोज खाएकामध्ये बेहुला–बेहलीसहित १७३ जना स्थानीय विरामी परेका थिए ।
तीमध्ये अधिकांशलाई निको भएको र हाल प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा पाँच जना मात्रै बिरामी बाँकी रहेको जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष अरुणादेबी राईले बताइन् । उनीहरुलाई स्लाइनपानी दिँदै राखिएको छ ।
विरामी पर्नेको संख्या अधिक भएपछि गाउँपालिकाले माघ २३ गते दिप्लुङकै निगालाबास भञ्ज्याङमा शिविर खडा गरेर उपचारको प्रवन्ध मिलाएको थियो । बिरामीको उपचारका लागि गाउँपालिकाको स्वास्थ्य शाखाको आरआरटी टिम, स्वास्थ्य कार्यालय र जनप्रतिनिधिको टोली दिनरात खटिएका थिए। विवाह भोज खाएका स्थानीय माघ २२ गते बेलुकादेखि बिरामी पर्न थालेका थिए । भोज खाएको करिव १२ घण्टापछि सुरुमा ज्वरो आउने, काम्ने र झाडापखाला लाग्ने समस्या देखिएको थियो ।
विरामीको अधिक चाप बढेपछि स्वास्थ्य कार्यालयबाट औषधि सहितको जनशक्ति मगाएर उपचार गरिएको गाउँपालिका उपाध्यक्ष खेम खड्काले बताए । भोज खाएर फर्किएका उदयपुर, काठमाडौं लगायतका पाहुना समेत बिरामी परेको सूचना आएको उनले बताए । सय जना बिरामीको घरघरमै पुगेर तथा ७३ जनाको शिविर केन्द्रमा उपचार गरिएको गाउँपालिकाले जनाएको छ ।