काठमाडौँ । भारतमा जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्याण्ड राष्ट्रिय क्रिकेट टोली सँग पराजित भएको छ। रोमाञ्चक प्रतिस्पर्धामा अन्तिम ओभरसम्म पुगेको खेलमा नेपाल जितबाट चुक्दै हार बेहोर्न बाध्य भयो।
इंग्ल्याण्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले सुरुवातदेखि नै आक्रामक ढंगले खेल्दै लक्ष्यतर्फ दबाब बनाएको थियो। मध्य ओभरहरूमा महत्वपूर्ण साझेदारी बनेपछि खेल नेपालको पकडमा पुग्ने संकेत देखिएको थियो। तर अन्तिम ओभरमा आवश्यक रन जोड्न नसक्दा जित हातबाट फुस्किएको हो।
यसअघि टस जितेर ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। कप्तान ह्यारी ब्रुक र ज्याकोब बेथेलले अर्धशतकीय इनिङ खेल्दै टोलीलाई बलियो अवस्थामा पुर्याएका थिए भने विल ज्याक्स अन्त्यसम्म अविजित रहँदै रन गति बढाएका थिए।
नेपालका बलरहरूले बीचका ओभरहरूमा प्रभावशाली प्रदर्शन गरे पनि डेथ ओभरमा खर्चिएको रन महँगो सावित भयो। जवाफी ब्याटिङमा उत्कृष्ट प्रयास हुँदाहुँदै पनि नेपाल अन्तिम क्षणमा लक्ष्य भेट्न असफल रह्यो।