काठमाडौं । नेपालमा जलपन्छीको संख्यामा ठूलो गिरावट आएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सार्वजनिक गरेको ‘एसियन वाटरवर्ल्ड सेन्सस २०२६’ को नतिजाअनुसार यस वर्ष देशभर गणना भएका जलपन्छीको संख्या गत वर्षको तुलनामा ६ हजारभन्दा बढीले घटेको छ ।
३ देखि १८ जनवरीसम्म देशभरका १८ सिमसार क्षेत्र र ७८ साना क्षेत्रमा गरिएको गणनामा यस वर्ष ८९ प्रजातिका ९० हजार ६ सय ८८ जलपन्छी रहेको पाइएको छ । यस अघिको वर्ष सन् २०२५ मा भने ९४ प्रजातिका ९६ हजार ५ सय ६५ जलपन्छी गणनामा देखिएका थिए । विभागका वरिष्ठ इकालोजिस्ट हरिभद्र आचार्यले समग्र संख्यामा भएको यो कमी चिन्ताजनक रहेको बताउनुभएको छ ।
तथ्यांकले देशभरका विभिन्न सिमसार क्षेत्रमा जलपन्छीको संख्या घटबढ भएको देखाएको छ । काठमाडौं उपत्यकाभित्रका टौदह र बागमती नदीमा गणना भएका जलपन्छीको संख्या गत वर्षको २०४ बाट घटेर यस वर्ष १६४ पुगेको छ । यस्तै चितवन राष्ट्रिय निकुञ्ज, कोशी टप्पु वन्यजन्तु आरक्ष, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, राराताल, घोडाघोडी ताल र जगदीशपुर जलाशयमा पनि जलपन्छीको संख्यामा कमी आएको छ ।
तर, केही सिमसार क्षेत्रमा भने जलपन्छीको संख्या बढेको छ । मनोहराफाँट, पोखरा उपत्यकाका सिमसार, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, नाखोडी ताल, राप्ती नदी आसपास, लुम्बिनी क्षेत्र, धनुषाधम, कमला नदी र बर्जुतालमा यस वर्ष जलपन्छीको संख्या बढेको पाइएको छ । विभागले जनवरीको पहिलो शनिबारदेखि बसाइँसराइ गर्ने र पानीमा बस्ने चराको प्रजनन नहुने समयमा यो गणना गर्दै आएको छ । यसले सिमसार क्षेत्रको अवस्थाबारे थाहा पाउने र सिमसारको संरक्षण तथा व्यवस्थापनमा आम नागरिकलाई जागरूक तथा सहभागी बनाउने उद्देश्य राखिएको छ ।