काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक भएको बताएका छन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको रजत जयन्ती तथा नेपाल आदिवासी ज्ञान सम्मेलन महोत्सव समारोहको आज उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक राष्ट्र भएको र हाम्रो राष्ट्रिय गानले व्यक्त गरे झैँ नेपाल सयौं थुङ्गाका फूलहरू मिलेर बनेको सुन्दर फूलबारी भएको उल्लेख गरे ।
राष्ट्रपति पौडेलले आदिवासी जनजाति समुदायको भाषा, लिपि, संस्कृति, परम्परा, मूल्य–मान्यता, ज्ञान प्रणाली र धार्मिक विश्वासहरू केवल सांस्कृतिक सम्पदा मात्र नभएर ती नेपालको राष्ट्रिय पहिचानका अमूल्य आधारहरू पनि भएको बताए ।