काठमाडौं । मुग्लिङ–काठमाडौं सडकखण्डअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ दसकिलो क्षेत्रमा दुईवटा बस आपसमा ठोक्किँदा दुर्घटना भएको छ ।
प्रहरीका अनुसार दाङबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश नम्बर ३–०१–००६ ख १५५२ नम्बरको बस र काठमाडौंबाट रसुवातर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ५२०६ नम्बरको रिजर्भ बस आज बिहान करिब साढे ७ बजे एकआपसमा ठोक्किएका हुन् ।
दुर्घटनाको प्रभावले एउटा बस सडक छेउमा रहेको टिनले छाएको कच्ची पसलमा समेत ठोक्किँदा पसलमा क्षति पुगेको छ । घटनामा पसलभित्र रहेका व्यक्ति तथा बसका यात्रुहरू घाइते भएको जनाइएको छ ।
घाइतेहरूलाई उद्धार गरी धादिङस्थित थाक्रे पोलिक्लिनिक तथा काठमाडौंका विभिन्न अस्पतालतर्फ पठाइएको छ । घाइतेको संख्या र पहिचानबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।