काठमाडौँ । १०औँ संस्करणको आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आइतबार इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।
नेपालले तेश्रो पटक टी–२० विश्वकप खेल्न लागेको हो । नेपालले सन् २०१४ मा बंगलादेशले आयोजना गरेको विश्वकपमा पहिलोपटक स्थान पक्का गरेको थियो । नेपालले दोस्रोपटक विश्वकप खेल्न १० वर्ष लगायो । सन् २०२४ को विश्वकपमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शन गरी विश्व क्रिकेटमा आफूलाई केन्द्रित बनाएको छ । दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित भएको थियो । यसअघि दुईपटक विश्वकप खेलेको नेपाल समूह चरणभन्दा माथि जान सकेको छैन ।
नेपालले समूह चरणका सबै खेल वानखडेमै खेल्नेछ । रोहितकुमार पौडेलको कप्तानीमा नेपालले दोश्रो पटक विश्वकप खेल्न थालेको हो । विश्व कपमा नेपालको प्रतिनिधित्व गर्दैछन्। आरिफ शेख, बसिर अहमद, लोकेश बम, शेर मल्ल र नन्दन यादव विश्वकपमा डेब्युको तयारीमा छन्।
सोमपाल कामी भने नेपालले खेलेका तिन वटै विश्वकप खेल्ने एक्ला खेलाडी बन्ने संघारमा छन्। कप्तान पौडेलसँगै ओपनर कुशल भुर्तेल, आशिफ शेख, दिपेन्द्र सिंह ऐरि, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी र सन्दीप जोरा लगातार दोस्रो पटक विश्वकप खेल्न लागेका हुन्।
सन् २०१० र २०२२ मा विश्वकपको उपाधि उचालेको बलियो टोली इङल्यान्ड नेपाललाई हराउँदै सुखद सुरुवात गर्ने लक्ष्यमा छ।यस्तै टी–२० विश्वकपमा आइतबार बिहान ११ बजे अफगानिस्तान र न्युजिल्यान्ड तथा बेलुका सवा ७ बजे श्रीलङ्का र आयरल्यान्ड पनि खेल्दैछन् ।
यो विश्वकपमा सुरक्षा कारण देखाउँदै बङ्गलादेश भारत आउन नमानेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले उसको ठाउँमा स्कटल्यान्डलाई समावेश गरेको छ । प्रतियोगितामा २० वटा टोलीलाई ४ वटा समूहमा बाँडिएको छ । प्रतियोगिता आउँदो मार्च ८ तारिखसम्म चल्नेछ । नेपाल विश्वकपमा समूह ‘सी’ मा छ । यो समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इंग्ल्यान्ड, स्कटल्यान्ड र इटाली छन् । बंगलादेशले भारतमा विश्वकप खेल्न अस्वीकार गरेपछि आईसीसी रेङ्किङका आधारमा स्कटल्यान्डले अवसर पाएको हो ।
विश्वकपमा नेपाली टिमबाट रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम छन् । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक इंग्ल्यान्डविरुद्ध टी–२० आई खेल्न लागेकाले यो खेल ऐतिहासिक बन्नेछ ।
अहिलेसम्म ६ वटा टोली टी–२० विश्वकपको उपाधि जितेका छन् । भारत, इङ्ग्ल्यान्ड र वेस्ट इन्डिज २/२ पटक तथा पाकिस्तान, श्रीलङ्का र अस्ट्रेलिया १/१ पटक विजेता बनेका छन् ।