काठमाडौं । नवौँ नम्बरका ब्याटर फहिम अस्रफले आक्रामक ब्याटिङ गरेपछि आईसीसी ट्वान्टी–२० विश्वकप–२०२६ को पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सविरुद्ध तीन विकेटको रोमाञ्चक जित निकालेको छ । शनिबार श्रीलंकाको कोलम्बोमा भएको खेलमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १४८ रनको लक्ष्य पाकिस्तानले १९.३ ओभरमा सात विकेट गुमाएर पूरा गरेको हो ।
पाकिस्तानको जितमा ओपनर साहिबजादा फरहानले सर्वाधिक ४७ रन बनाए । उनले ३१ बलमा चार चौका र दुई छक्का प्रहार गरे । अर्का ओपनर सैम अयुबले १३ बलमा चार चौका र एक छक्कासहित २४ रन थपे । बाबर आजमले १५ र कप्तान सलमान अली आघाले १२ रन जोडे ।
पाकिस्तान ११औँ ओभरको समाप्तिसम्म ९८–३ को सहज स्थितिमा थियो । तर, त्यसपछि लगातार विकेट गुमाउँदा पाकिस्तान ११४–७ को कठिन स्थितिमा आइपुगेको थियो ।
त्यसपछि ब्याटिङमा आएका फहिम अस्रफले आक्रामक ब्याटिङ गर्दै ११ बलमा दुई चौका र तीन छक्कासहित २९ रन बनाए । फहिमसँगै साहिन साह अफ्रिदी पाँच रनमा अविजित रहे ।
नेदरल्यान्ड्सका आर्यन दत्त र पाउल भान मिकेरेनले समान दुई विकेट लिए । लोगन भान विक, काइल क्लेइन र रोइलोफ भान डेर मेर्वेले एकरएक विकेट लिए । त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले १९।५ ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको थियो ।
नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३७ रन जोडे । उनले २९ बलमा तीन चौका र एक छक्का प्रहार गरे । बास डे लिडेले २५ बलमा चार चौकासहित ३० रन थपे । ओपनर माइकल लेभिटले १५ बलमा तीन चौका र एक छक्कासहित २४ रन बनाए । कोलिन एकरमनले २० रन जोडे । आर्यन दत्तले १३ रन थपे । लोगन भान विक ‘गोल्डेन डक’ भए ।
पाकिस्तानका सलमान मिर्जाले तीन विकेट लिए । अब्रार अहमेद, सैम अयुब र मोहम्मद नवाजले समान दुई विकेट लिए । साहिन साह अफ्रिदीले एक विकेट हात पारे ।
प्रतियोगितामा पाकिस्तान र नेदरल्यान्ड्स समूह ‘ए’मा छन् । यो समूहमा यी दुई टिमसँगै नामिबिया, अमेरिका र भारत छन् । आजदेखि सुरु प्रतियोगितामा कुल २० टिमले प्रतिस्पर्धा गर्दै छन् ।