काठमाडौँ । तेस्रो राष्ट्रियस्तरीय अवाकस च्याम्पियनसिप प्रतियोगिता यही माघ २४ गते शनिबार काठमाडौँमा आयोजना हुने भएको छ। एलरोज एजुकेसन प्रा। लि।को आयोजनामा हुन लागेको उक्त प्रतियोगिता काठमाडौँको सुकेधारास्थित सिद्धार्थ प्यालेस ब्याङ्क्वेटमा सम्पन्न हुनेछ।
प्रतियोगितामा देशभरका ८० भन्दा बढी विद्यालयबाट छनोट भएका करिब १५० विद्यार्थीको सहभागिता रहनेछ। सहभागी विद्यार्थीहरू आ–आफ्ना विद्यालयमा सम्पन्न विद्यालयस्तरीय अवाकस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रियस्तरीय प्रतिस्पर्धाका लागि छनोट भएका हुन्। एलरोज एजुकेसन प्रा। लि।की निर्देशक लिरा पोखरेलका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य बालबालिकामा मानसिक गणनाको क्षमता विकास गर्नुका साथै एकाग्रता, तार्किक सोच, आत्मविश्वास र विश्लेषणात्मक सीप अभिवृद्धि गर्नु हो। प्रतियोगिताका क्रममा अवाकस प्रतिस्पर्धासँगै विद्यार्थीहरूद्वारा मानसिक गणितको प्रत्यक्ष प्रदर्शन, प्रमाणपत्र वितरण तथा तहगत नतिजा घोषणा गरिनेछ।
निर्देशक पोखरेलले राष्ट्रियस्तरीय अवाकस च्याम्पियनसिप विद्यालय शिक्षामा सीपमूलक, व्यवहारिक तथा बालकेन्द्रित शिक्षण पद्धतिको प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजना गरिएको बताइन्। उनका अनुसार अवाकस तथा मानसिक गणित शिक्षाले बालबालिकाको समग्र शैक्षिक उपलब्धि सुधार गर्नुका साथै समस्या समाधान क्षमता र आत्मविश्वास विकासमा महत्वपूर्ण योगदान पुर्याउँछ। आयोजक संस्थाले यस प्रतियोगितालाई केवल प्रतिस्पर्धामा सीमित नराखी सिकाइ, अनुभव आदान–प्रदान तथा बालप्रतिभा पहिचान गर्ने राष्ट्रिय प्लेटफर्मका रूपमा विकास गर्दै लैजाने जनाएको छ।
काठमाडौँको कापन, बुढानीलकण्ठ–१२ मा अवस्थित एलरोज एजुकेसन प्रा.लि.प्रमाणित अवाकस तथा मानसिक गणित (मेन्टल म्याथ्स) कोर्स प्रदायक संस्था हो। उक्त संस्था विश्व अवाकस तथा मानसिक गणित संघ (डब्लुएएएमए) को काउन्सिल सदस्यसमेत रहेको छ। कार्यक्रमका प्रमुख अतिथिका रूपमा निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) केन्द्रीय समितिका उपाध्यक्ष किशोर गौतमको उपस्थिति रहनेछ। प्रतियोगितामा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षाविद्, शिक्षा क्षेत्रका अगुवा तथा शैक्षिक पेशाकर्मीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ