काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दैनिक १३ लाख मतपत्र छपाइ भइरहेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले मतपत्र छापिरहेको हो ।
केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले प्रत्यक्षतर्फ कुल २ करोड ३ लाख थान मतपत्र छपाइ गर्नुपर्नेमा बिहीबार साँझसम्म ८० लाख मतपत्र छपाइ सम्पन्न भएको जानकारी दिए । दिनमा १३ लाखसम्म मतपत्र छपाइ भइरहेको र अबको एक सातामा सबै मतपत्र छपाइ सम्पन्न गरी ‘प्याकिङ’को काम गरिने उनले बताए ।
समानुपातिकतर्फको मतपत्र माघ २५-२६ देखि ढुवानीको काम सुरु हुने र महिनाको मसान्तसम्म प्रत्यक्षतर्फको मतपत्र छपाइ सकेर फागुनको १-२ गतेसम्म जिल्लामा ढुवानी हुने उनले बताए ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ ६० निर्वाचन क्षेत्रका लागि ८० लाख थान मतपत्र छपाइ सम्पन्न भएको छ । आयोगले निर्वाचनका लागि आवश्यक ३७ प्रकारका सामग्री सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले नै खरिद गर्ने व्यवस्था गरेको जनाइएको छ ।