काठमाडौँ । भारतको उत्तर पूर्वमा पार्ने मेघालय राज्यको एक कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिकाका एकै घरका २ दाजुभाइको ज्यान गएको छ ।
विस्फोटमा परेर बराहपोखरी गाउँपालिका–१ सालघारीभञ्ज्याङका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगरको घटनास्थलमै ज्यान गएको बराहपोखरी गाउँपालिकाका सूचना अधिकारी रमेश पोखरेलले जानकारी दिए ।
घटनामा बमबहादुर खपाङ्गी मगर, कर्णबहादुर खपाङ्गी मगर, नरबहादुर खपाङ्गी मगर, लितबहादुर मगर र अर्का एक जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनाका ज्यान गुमाउने तथा घाइतेहरू रोजगारीका लागि गएको पुस ३ मेघालय गएका थिए ।
भारतीय सञ्चारमाध्यमका अनुसार विस्फोटका घटनामा परेर ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ । घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै ज्यान गुमाउनेको परिवारलाई दुई लाख भारतीय रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।घाइतेहरूलाई ५० हजार भारतीय रुपैयाँका दरले उपचार खर्च दिने भारत सरकारले जनाएको छ ।