काठमाडाैँ । साफ महिला यू–१९ च्याम्पियनसिप २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग ४–० गोलले पराजित भएको छ। पोखरा रंगशालामा बुधबार सम्पन्न खेलमा पराजय भोगेसँगै नेपाल प्रतियोगिताको फाइनलमा पुग्न असफल भएको हो। फाइनलमा स्थान बनाउन नेपाललाई आजको खेलमा बंगलादेशलाई हराउनै पर्ने दबाब थियो। तर नेपालले खेलको सुरुवातदेखि नै दबाब झेल्दै चार गोल खायो र निर्णायक खेलमा स्पष्ट हार व्यहोर्न पुग्यो।
नेपालले यसअघि पहिलो खेलमा भारतसँग १–० को हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानलाई २–१ गोलले पराजित गरेको थियो। तर निर्णायक तेस्रो खेलमा बंगलादेशसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरिएको छ। अब प्रतियोगिताको उपाधिका लागि बंगलादेश र भारतबीच प्रतिस्पर्धा हुने भएको छ।