काठमाडौं । काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि भारतको कोलकातामा डाइभर्ट गरिएको छ। आज दिउँसो १ बजेर २९ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको फ्लाइट नम्बर टीके ७ २ ७ को जहाजमा उचाइ लिने क्रममा दायाँ इन्जिनमा आगो लागेको संकेत देखिएको थियो । जहाज काठमाडौंबाट ४ माइल पश्चिम पुग्दा चालक दलले काठमाडौं एप्रोच कन्ट्रोललाई दायाँ इन्जिनमा आगो लागेको जानकारी गराएका थिए। लगत्तै जहाजलाई केही समय आकाशमै होल्ड गरि कलकत्ता तर्फ मोडिएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार जहाज नेपाली समय अनुसार दिउँसो ३ बजेर ३ मिनेटमा कोलकाता विमानस्थलमा सकुशल अवतरण भएको छ । जहाजमा २२५ यात्रु र ११ चालक दलका सदस्य गरी कुल २३६ जना सवार रहेका थिए । सबै सुरक्षित छन् । विमानस्थलको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्ति जारी गर्दै जहाजको सफल अवतरण भएको बताएको हो ।