काठमाडौं । काठमाडौं महानगरपालिकाले निर्वाचन आयोगलाई मागिएको स्पष्टीकरणको जवाफ पठाएको छ। निर्वाचन आचारसंहिता, २०८२ लागू भइसकेपछि महानगरले ७० वर्ष तथा सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन थालेको विषयमा आयोगले स्पष्टिकरण सोधेको थियो।
जवाफमा महानगरले उक्त कार्यक्रम नयाँ घोषणा नभई वार्षिक बजेटबाट स्वीकृत भइसकेको योजना भएको जनाएको छ। महानगरका अनुसार नगरसभाको १७औँ अधिवेशनबाट पारित आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम तथा बजेटको क्रम संख्या ७७१ मा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यक्रम समावेश गरिएको छ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा ५ को खण्ड (क) उपखण्ड (ग) मा वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत नभएका नयाँ नीति, योजना वा कार्यक्रम घोषणा वा सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ। तर सरुवा रोगको महामारी वा नियन्त्रणबाहिरको अवस्था आएमा आयोगको अनुमति लिएर कार्यक्रम सञ्चालन गर्न सकिने उल्लेख छ।
महानगरले आफ्नो कार्यक्रम वार्षिक बजेटमै समावेश र स्वीकृत भइसकेको भएकाले आचारसंहिताविपरीत नभएको स्पष्ट पारेको छ।