काठमाडौं । भारतबाट निर्वाचनलाई लक्षित गरी थप २२३ थान गाडीहरु नेपाल ल्याउन लागिएको छ । भारत सरकारले उपहार स्वरुप दिन लागेको गाडीको तेस्रो खेप नेपाल ल्याउन लागिएको हो । भारतीय दूतावास स्रोतका अनुसार तेस्रो खेपमा १५० थान डबल क्याब पिकअप महिन्द्रा स्कोरपियो र ७३ थान डबल क्याब पिकअप महिन्द्रा बोलेरो गाडीहरु नेपाल ल्याईन लागेको हो ।
यसअघि पहिलो खेपमा ६१ वटा गाडी ल्याइएको थियो । ती गाडीहरु माघ ६ गते नै भारतीय दूतावासले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । यसपटकको निर्वाचनका लागि भारत सरकारले साना–ठूला गरी ५३८ थान गाडी नेपाललाई उपलब्ध गराउने बताइएको छ । निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायताअन्तर्गत भारत सरकारसँग गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत गाडी माग गरेको थियो । सबै गाडीहरु भारतीय दूतावासले गृह मन्त्रालयलाई उपलब्ध गराउने र गृह मन्त्रालयले आवश्यकता अनुसार वितरण गर्ने बताइएको छ ।