काठमाडौँ । स्वास्थ्य बीमा प्रणालीमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री सुशीला कार्कीले सरोकारवालासँग छलफल गर्ने भएकी छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार स्वास्थ्य बीमासम्बन्धी उत्पन्न अवस्थाबारे छलफल गर्न आज बुधबार दिउँसो १ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बैठक बोलाइएको छ ।
बीमा बोर्डसँग आवश्यक बजेट अभाव हुँदा धेरै बिरामीले स्वास्थ्य बीमाको सुविधा उपयोग गर्न नसक्ने अवस्था आएको छ । देशका ठूला अस्पतालहरूले समेत बीमाबाट उपचार सेवा दिन नसक्ने भन्दै सार्वजनिक सूचना निकाल्न थालेका छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जले स्वास्थ्य बीमा बोर्डले करिब ४० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उल्लेख गर्दै बीमामार्फत उपचार सेवा रोकिएको जानकारी गराएको थियो ।
यस्तै समस्या अन्य अस्पतालहरूमा पनि देखिन थालेपछि स्वास्थ्य बीमा बोर्डले हालै सूचना जारी गर्दै एक आर्थिक वर्षमा बाहिरंग (ओपिडी) उपचारका लागि अधिकतम २५ हजार रुपैयाँसम्म मात्र सुविधा उपलब्ध गराइने जनाएको छ । उक्त सीमाभित्रको उपचार सकिएपछि मात्र भर्ना, प्रयोगशाला परीक्षण तथा आकस्मिक उपचार सेवा लागू हुने व्यवस्था गरिएको छ ।
स्वास्थ्य बीमा बोर्डका अनुसार नयाँ व्यवस्था फागुन १ गतेदेखि कार्यान्वयनमा ल्याइनेछ ।