काठमाडौँ । मुस्ताङको प्रतिकूल चिसो याममा समेत पर्यटकको सङ्ख्या वृद्धि भएको छ । विगतका वर्षभन्दा यस वर्षको जनवरी पहिलो महिनामै यहाँ पर्यटकीय गतिविधि बढेका हुन । मुस्ताङस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार चालु वर्षको सन् २०२६ को जनवरीमा १० हजार ८ सय २२ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । एक्याप प्रमुख राजेश गुप्तका अनुसार यहाँ जनवरी पहिलो महिनामा सार्क राष्ट्रबाट १० हजार ४५ र अन्य फरेनर विदेशी पर्यटक ७७७ जना मुस्ताङ भित्रिएका हुन् ।
यसअघि सन् २०२५ को जनवरी पहिलो महिनामा चार हजार ३४६ विदेशी पर्यटक मुस्ताङ भित्रिएको एक्याप जोमसोम कार्यालयको पर्यटकीय तथ्यांकमा उल्लेख छ । सन् २०२५ को जनवरीमा भन्दा सन् २०२६ को जनवरीमा छ हजार ४७६ ले वृद्धि भएको एक्याप जोमसोमका कार्यालय प्रमुख गुप्तको भनाइ छ । सन् २०२५ को जनवरी पहिलो महिनामा सार्क राष्ट्रबाट तीन हजार ८३० र अन्य फरेनर विदेशी पर्यटकको सङ्ख्या ५१६ रहेको थियो । एक्यापका अनुसार सन् २०२५ को जनवरीभन्दा सन् २०२६ को जनवरीमा सार्क राष्ट्रतर्फ छ हजार २१५ जना र अन्य राष्ट्रका फरेनर विदेशी पर्यटक २६१ जनाले वृद्धि भएको हो ।