काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लाहरुमा दोस्रो चरणमा निर्वाचन हुनसक्ने संकेत गरेकी छन् ।
आज नेपाली सेनाको राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहका लागि नवपलपुरको हात्तीखोरमा पुगेकी उनले यस्तो बताएकी हुन् ।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले चिसो बढेमा हिमाली जिल्लाहरुमा दोस्रो चरणमा निर्वाचन हुनसक्ने बताइन् । अत्यधिक चिसोले सक्दै नसक्ने अवस्था आइहाल्यो भने दोस्रो चरणमा हुन्छ,’ प्रधानमन्त्री कार्कीको तर्क रहेको छ ।
त्यस्तै सञ्चारकर्मीहरुले केही राजनीतिक दलहरुले अझै निर्वाचनको वातावरण नबनेको भन्दै आलोचना गरिरहेको र त्यसैको कारण निर्वाचन सर्न सक्ने संकेत गरेको भन्दै प्रश्न गरेका थिए । सो क्रममा प्रधानमन्त्री कार्कीले चिसोका कारण हिमाली जिल्लाहरुमा निर्वाचन सर्न सक्ने तर अन्य स्थानहरुमा फागुन २१ कै मितिमा हुने विश्वास व्यक्त गरिन् ।
‘सर्दै सर्दैन, निर्वाचन तोकिएकै समयमा हुन्छ,’ प्रधानमन्त्री कार्कीको तर्क रहेको छ ।
साथै समारोहमा प्रदर्शन गरिएको कवाजले क्याडेटहरूको अनुशासन, अभ्यास र परिश्रम झल्किएको भन्दै प्रधानमन्त्री कार्कीले युवामा देखिएको आत्मविश्वास र उत्साहले समाज र राष्ट्र निर्माणमा उनीहरूको नेतृत्वदायी भूमिका थप सशक्त हुने विश्वास व्यक्त गरिन्।
प्रधानमन्त्रीले तालिम सफल बनाउन योगदान पुर्याउने नेपाली सेना, राष्ट्रिय सेवा दल, स्थानीय तह, विद्यालय, शिक्षक, व्यवस्थापन समिति तथा अभिभावकप्रति धन्यवाद व्यक्त गर्दै आगामी वर्षहरूमा कार्यक्रमको दायरा थप विस्तार गरिने प्रतिबद्धता जनाइन्।
चालु आर्थिक वर्षमा देशभरका २५७ विद्यालयबाट ७ हजार ७१० जना क्याडेटलाई तालिम दिइएको छ, जसमा सिनियर डिभिजनतर्फ १ हजार ८० र जुनियर डिभिजनतर्फ ६ हजार ६३० जना रहेका छन्। हालसम्म करिब ९० हजार युवाले एनसीसी तालिम पूरा गरिसकेको तथ्य उनले उल्लेख गरिन्।
उनले दीक्षित क्याडेटहरूको उज्ज्वल भविष्य, शैक्षिक तथा सर्वांगीण विकासको कामना गरेकी छन् ।