काठमाडौं । काठमाडौँ महानगरपालिकाको कार्यालयमा रहेको विशेष प्रयोजनको लिफ्ट अब सर्वसाधारण सेवाग्राहीका लागि प्रयोग गर्न खुला गरिएको छ।
महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार आइतबारदेखि उक्त लिफ्ट सर्वसाधारणका लागि सञ्चालनमा ल्याइएको हो। कार्यवाहक मेयर सुनिता डंगोलको निर्देशनपछि लिफ्ट खुला गरिएको उनले जानकारी दिए।
सुन्धारास्थित जेडीए कम्प्लेक्समा रहेको महानगरको कार्यालय कमलादीस्थित भवनमा स्थानान्तरण भएपछि सो लिफ्ट निर्माण गरिएको थियो। यसअघि उक्त लिफ्ट तत्कालीन मेयर बालेन्द्र साहले मात्र प्रयोग गर्दै आएका थिए।
लिफ्टमा पासवर्ड प्रणाली जडान गरिएको थियो र पार्किङ क्षेत्रमा रहेको सो लिफ्टको प्रयोग सीमित व्यक्तिले मात्र गर्न पाउने व्यवस्था थियो। अब भने महानगर आउने सेवाग्राहीले पनि उक्त लिफ्ट प्रयोग गर्न सक्ने व्यवस्था गरिएको महानगरले जनाएको छ।