काठमाडौं । दुई सातादेखि बजारमा कृत्रिम ग्यास अभाव देखिएको छ । बजारमा अहिले विशेष गरी नेपाल ग्यासको अभाव चरम रुपमा देखिएको छ । जसका कारण उपभोक्ता मारमा परेका छन्। भारतबाट समयमै ग्यास ढुवानी भएर नेपाल नआउँदा ग्यासको चर्को अभावको सामना उपभोक्ताले गर्नुपरेको छ। नेपाल ग्यासका विक्री केन्द्रहरुमा दुईसातादेखि ग्यास नपाइएपछि खाली सिलिण्डर बोकेर उपभोक्ता बालाजु औद्योगिक केन्द्रमा रहेको नेपाल ग्यासको कार्यालयमै दैनिक सयौं उपभोक्ता पुग्ने गरेका छन्। कार्यालयमै पुग्दा पनि नेपाल ग्यास नपाएको गुनासो उपभोक्ताहरूको छ ।
बिहानदेखि दिनको २ बजे सम्म मात्र ग्यास वितरण गरिने सो कार्यालयमा अहिले दैनिक सयौ उपभोक्ताहरु लाइन बस्ने गरेको गुनासो आएपछि नेपाल आयल निगमले ध्यानाकर्षण भएको जनाएको छ । बजारमा ग्यास अभाव हुन लागेको हल्लाले स्टक ग्यास राख्ने गरेकोले पनि ग्यासको आपूर्तिमा समस्या भइरहेको निगमको भनाइ छ ।
जाडोयामको मागलाई मध्यनजर गर्दै निगमले विगत तीन महिनादेखि निरन्तर रुपमा ग्यासको आपूर्ति गरिरहेको तथ्यांक सार्वजनिक गरेको छ ।नोभेम्बर २०२५ मा ४७ हजार २६४ मेट्रिक टन, डिसेम्बरमा ४८ हजार ५३१ मेट्रिक टन र जनवरी २०२६ मा ४७ हजार ३०४ मेट्रिक टन ग्यास आयात भई बिक्री वितरण भइसकेको निगमले जनाएको छ ।