काठमाडाैँ । कञ्चनपुरमा छोरी जन्माउने आमालाई पालिकाले तीन हजार रुपैयाँका दरले प्रोत्साहन भत्ताको दिने व्यवस्था गरेको छ । जिल्लाको बेल्डाँडी गाउँपालिकाले छोरी जन्माउने अभिभावकलाई प्रोत्साहन स्वरुप तीन हजार रुपैयाँ भत्ताको व्यवस्था गरेको पालिकाले जनाएको छ । गाउँपालिकाले लैंगिक विभेद हटाउने उद्देश्यले भत्ताको व्यवस्था गरेको जनाएको हो ।
गाउँपालिका उपाध्यक्ष शान्ति नाथले पछिल्लो समय लिंग पहिचान गरी गर्भपतन गर्ने प्रवृत्ति बढेकाले त्यसलाई रोक्न छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएको बताइन्। आर्थिक वर्ष २०७९/८० बाट ‘उपाध्यक्ष कोसेली’ कार्यक्रमअन्तर्गत छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएकोे हो, उपाध्यक्ष नाथले भनिन्, हालसम्म ३५३ आमाले छोरी जन्माए वापत प्रोत्साहन भत्ता पाएका छन् ।
प्रोत्साहन भत्ता लिन आउँदा विवाह दर्ता र बालिकाको जन्मदर्ता ल्याउनुपर्ने भएकाले यसले बालविवाहलाई रोक्ने अपेक्षा गरिएको छ । त्यसअघि पालिकाले सुत्केरी आमालाई पोषण भत्ता स्वरुप ५ सय रुपैयाँ दिँदै आएको थियो । ‘उपाध्यक्ष कोसेली’ कार्यक्रमबाट पालिकामा गर्भपतिलाई एम्बुलेन्स सेवा निःशुल्क गरिएको छ भने जिल्ला सदरमुकाम वा बाहिर रेफर हुँदा एम्बुलेन्समा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
उनले ३५ वर्ष नाघेका अविवाहित महिलालाई एकल महिला सरह मासिक २ हजार ५०० भत्ता दिने गरेको बताइन् । पालिकाभित्र रहेका तेस्रो लिंगीलाई मासिक भत्ता दिने व्यवस्था गरिएको छ,उनले भनिन्, टुहुरा बालबालिकालाई पोसाक भत्ता दिने कार्यविधि बनाएर कार्यान्वयन चरणमा छ ।