काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अधिकृत सहित तीन कर्मचारी घुससहित पक्राउ गरेको छ । आयोगले सोमबार भन्सारको वैदेशिक हुलाक भन्सार शाखका अधिकृत इन्द्र न्यौपाने,सञ्चार मन्त्रालयबाट खटिएका हुलाक सेवा विभाग गोश्वारा हुलाक कार्यालय निकासी शाखामा कार्यरत नासु छविप्रसाद रिजाल र कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनीलाई दुई लाख ६८ हजार २८८ रुपैयाँ र २३ थान मोबाइलसहित नियन्त्रणमा लिएको हो।
तीनैजना कर्मचारी तथा अरु केही शंकास्पद व्यक्तिका गरी २३ थान मोबाइल नियन्त्रणमा लिएको र न्यौपानेसहित कर्मचारीको साथबाट घुस र स्रोत नखुलेको गरी उक्त रकम बरामद गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले बताए ।
नेपालबाट कुरिअरमार्फत सामान पठाउँदा सेवाग्राहीसँग घुस लिएको उजुरीपछि अख्तियारले टंगालबाट टोली खटाएको थियो । अख्तियारका अनुसार कार्यालय सहयोगी पुडासैनीको कार्यकक्षबाट १० हजार घुस, उनकै घर्राबाट स्रोत नखुलेको ४० हजार ३५० रुपैयाँ र उनको साथबाट ९६ हजार ७० रुपैयाँ गरी १ लाख ४६ हजार ४२० रुपैयाँ बरामद भएको छ । त्यस्तै नासु रिजालले सेवाग्राहीबाट लिएको २० हजार स्रोत नखुलेको १८ हजार ८४८ गरी ३८ हजार ८४८ रुपैयाँ बरामद गरिएको छ ।
यो सबै रकम अधिकृत न्यौपाने, नासु रिजाल र सहयोगी पुडासैनीको मिलेमतोमा घुस लिएको र बाँडफाँट हुनुअगावै अख्तियारले नियन्त्रणमा लिएको हो । तीनैजनाका अलावा अरु कर्मचारीसमेतबाट बरामद २३ थान मोबाइल विधिविज्ञान प्रयोगशाला पठाउने तयारी भएको अख्तियारले जनाएको छ ।