काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले टि–२० विश्वकपमा भारतसँग खेल नखेल्ने पाकिस्तानको निर्णयप्रति असहमति जनाएको छ।
पाकिस्तान सरकारले आइसीसी पुरुष टि–२० विश्वकप २०२६ मा आफ्नो राष्ट्रिय टोलीलाई सहभागी गराउने अनुमति दिए पनि भारतविरुद्ध तोकिएको खेल (फेब्रुअरी १५) मा मैदानमा नउत्रने निर्णय गरेको थियो।
आइसीसीले यसलाई ‘छनोटमूलक सहभागिता’ को रूपमा व्याख्या गर्दै यस्तो अभ्यासले अन्तर्राष्ट्रिय प्रतियोगिताको आधारभूत मर्मसँग मेल नखाने जनाएको छ। परिषद्को विज्ञप्तिमा पाकिस्तान सरकारको निर्णयअनुसार टोलीलाई विश्वकपमा आंशिक रूपमा मात्र सहभागी गराउने निर्देशन दिइएको विषयलाई गम्भीर रूपमा लिइएको उल्लेख गरिएको छ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) बाट औपचारिक धारणा सार्वजनिक भइनसकेको भए पनि आइसीसीले यस्तो निर्णयले निर्धारित तालिकाअनुसार सबै टोलीले समान आधारमा प्रतिस्पर्धा गर्ने विश्वकपको सिद्धान्त कमजोर पार्ने उल्लेख गरेको छ।
आइसीसीका अनुसार उसका प्रतियोगिता निष्पक्षता, प्रतिस्पर्धात्मकता र निरन्तरतामा आधारित हुन्छन्। कुनै एक खेल मात्र बहिष्कार गर्ने अभ्यासले प्रतियोगिताको भावना र खेलको अखण्डतामा असर पार्ने चेतावनी पनि दिइएको छ।
सरकारहरूको राष्ट्रिय नीतिप्रति सम्मान जनाउँदै आइसीसीले उक्त निर्णय विश्व क्रिकेट र समर्थकहरूको हितमा नरहेको उल्लेख गरेको छ। साथै यसले पाकिस्तान क्रिकेटमा दीर्घकालीन प्रभाव पार्न सक्ने तथा अन्तर्राष्ट्रिय क्रिकेट संरचनामै असर पर्न सक्ने जनाइएको छ।
आइसीसीले पाकिस्तान सरकारलाई उक्त निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ। परिषद्ले विश्वकप सफल रूपमा सम्पन्न गर्नु सबै सदस्य राष्ट्रहरूको साझा जिम्मेवारी भएको उल्लेख गर्दै पीसीबीसँग सहकार्य गरेर सबै पक्षको हित हुने समाधान खोज्ने अपेक्षा गरिएको जनाएको छ।