काठमाडौँ । जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालबाट ‘कुन पार्टी र चुनाव चिह्नमा मतदान गर्नुहुन्छ’ भनेर प्रश्न सोधी मतदाताको गोपनीयता भंग नगर्न आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवम् निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तेजप्रसाद प्रसाइँ र अञ्जन न्यौपानेले आइतबार विज्ञप्ति जारी गर्दै उक्त आग्रह गरेका हुन् ।
त्यसरी मतदाताको गोपनीयता भंग गर्ने र गराउने कार्य निर्वाचन आचारसंहिता २०८२ को दफा ४ (द) बमोजिम आचारसंहिता उलंघन हुनेसमेत प्रशासनले स्पष्ट पारेको छ । यदि कसैले अटेर गरी आचारसंहिता उल्लंघन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइनेसमेत जिल्ला प्रशासनद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

