काठमाडौँ । घोडाघोडी नगरपालिका नदीजन्य पदार्थ उत्खननको ठेक्का आह्वानमा ढिलाइ भएपछि ट्रयाक्टर तथा निर्माण व्यवसायी आन्दोलित बनेका छन्। नगरपालिकाले चालु आर्थिक वर्ष सुरु भएको सात महिना बितिसक्दा पनि ठेक्का सम्झौता गर्न नसकेपछि व्यवसायीहरूले आन्दोलन गरेका हुन्।
नगरपालिकाले माघ ८ गते मात्र सूचना जारी गर्दै कान्द्रा, डोडा, टेँगना, कन्द्री र झिंगेझाल गरी पाँच खोलानालाको नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का आह्वान गरेको छ। कान्द्रा नदीको लागि ७१ लाख १३ हजार ७ सय ९२ रुपैयाँ, डोडा नदीको लागि ४८ लाख ६३ हजार ८ सय १३ रुपैयाँ ९२ पैसा, टेँगना नदीको लागि ४४ लाख ३१ हजार १ सय ८९ रुपैयाँ ५१ पैसा, कन्द्री नदीको लागि ३१ लाख ४१ हजार ४६ रुपैयाँ १६ पैसा र झिंगेझाल नदीको लागि २२ लाख ४३ हजार ५ सय ६७ रुपैयाँ २० पैसा कायम गरिएको छ।
सामान्यतया असोज मसान्ततिर ठेक्का सम्झौता हुने प्रचलन रहे पनि पछिल्ला आर्थिक वर्षहरुमा नगरपालिका ढिलाइ गर्दै आएको व्यवसायीहरूले आरोप लगाएका छन्। आर्थिक वर्ष २०८१÷८२ मा पनि मंसिर लाग्दा समेत नदीजन्य पदार्थ खुला गर्न नसकेको नगरपालिकाले यस वर्ष पनि ढिलाइ गरेको छ।
ठेक्का आह्वान भए पनि आवेदन नपरेका कारण सम्झौतामा ढिलाइ भएको नगरपालिकाले जनाएको छ। तर असोजमै नदीजन्य पदार्थ खोलिनुपर्नेमा पाँच महिना बितिसक्दा पनि नखोल्दा व्यवसायीहरू आन्दोलित बनेका हुन्। घोडाघोडी–६ का व्यवसायी रेवन्त खड्काले नगरपालिकाको ढिलाइका कारण ट्रयाक्टर तथा निर्माण व्यवसायीलाई आन्दोलन गर्न बाध्य भएको बताए।
व्यवसायीहरूले संयुक्त रूपमा ट्याक्टरसहित नगरपालिका कार्यालय घेराउ गर्दै तालाबन्दी गरेका छन् । त्यसपछि नगरपालिकाले एक सूचना जारी गर्दै व्यवसायीहरूसँग सहमति गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत शिवसिंह भण्डारीले जानकारी दिएका छन्।
सूचनामा ३० दिने ठेक्का आह्वान सम्बन्धी प्रक्रिया सुरु भइसकेको र त्यसको अवधि भित्र ठेक्का बन्दोबस्त गर्न नसकिएको उल्लेख गरिएको छ।
नगरपालिकाले आह्वान गरेको ५ वटा नदीनालाको ठेक्का सम्बन्धी सूचना




