काठमाडौँ । परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपाली नागरिक तथा त्यहाँ जाने तयारीमा रहेकाहरूका लागि ट्राभल एड्भाइजरी जारी गरेको छ।
आइतबार जारी सूचनामा मन्त्रालयले इरानको पछिल्लो सुरक्षा तथा राजनीतिक अवस्थालाई ध्यानमा राख्दै अवस्था सामान्य नहुन्जेल त्यहाँ भ्रमण नगर्न अनुरोध गरेको छ। साथै, काम वा बसोबासका कारण इरानमा रहेका नेपाली नागरिकलाई सम्भव भएसम्म चाँडो स्वदेश फर्किन पनि सुझाव दिएको छ।
मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, “पछिल्लो घटनाक्रमलाई मध्यनजर गर्दै अवस्था सामान्य नहुँदासम्म इरान भ्रमणको योजना नबनाउन नेपाली नागरिकहरूलाई अनुरोध गरिन्छ। साथै, त्यहाँ बसोबास वा रोजगारीका सिलसिलामा रहेका नेपाली नागरिकलाई सकेसम्म चाँडो इरान छाड्न सल्लाह दिइन्छ।”
त्यस्तै, इरानमा रहेका नेपाली नागरिकलाई आकस्मिक अवस्थामा देश छाड्नुपर्ने हुन सक्ने भएकाले राहदानी, परिचयपत्रलगायत आवश्यक कागजात तयारी अवस्थामा राख्न पनि आग्रह गरिएको छ। आवश्यक समन्वयका लागि दोहास्थित नेपाली दूतावास तथा काठमाडौँस्थित परराष्ट्र मन्त्रालयसँग सम्पर्कमा रहन भनिएको छ।
इरानमा गत डिसेम्बर २८ देखि बढ्दो महँगी, मुद्रास्फीति तथा सरकारी आर्थिक नीतिको विरोधमा प्रदर्शन हुँदै आएको छ। ती प्रदर्शनका क्रममा मानवीय क्षति भएको जनाइए पनि मृतकको आधिकारिक संख्या इरानी सरकारले सार्वजनिक गरेको छैन।
प्रारम्भमा आर्थिक अवस्थाविरुद्ध सुरु भएको आन्दोलन क्रमशः राजनीतिक मागसम्म विस्तार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यस विषयलाई लिएर अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रतिक्रियाहरू आएका छन् भने इरान सरकारले यसलाई आफ्नो आन्तरिक विषय भन्दै बाह्य हस्तक्षेप अस्वीकार गर्दै आएको छ।
परराष्ट्र मन्त्रालयले जारी गरेको ट्राभल एड्भाइजरी नेपाली नागरिकको सुरक्षा र हितलाई ध्यानमा राखेर जारी गरिएको जनाएको छ।