काठमाडाैँ । उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा सिमेन्ट उत्पादनका क्रममा प्रयोग हुने कच्चा पदार्थ ‘क्लिङ्कर’ मा करोडौँ भ्रष्टाचार अभियोगमा तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल सहित ८ जना कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियारका अनुसार आर्थिक वर्ष २०७४र०७५ देखि २०७७ पुस मसान्तसम्मको अवधिमा कागजी रेकर्डमा देखाइएको भन्दा भौतिक परीक्षण गर्दा कुल ३८ हजार ७ सय ६९ मेट्रिक टन क्लिङ्कर कम पाइएको छ । कर्मचारीहरूले आपसी मिलेमतोमा स्टक कम देखाई ४६ करोड ५२ लाख ७४ हजार ४ सय २६ रूपैयाँ २६ पैसा बराबरको सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरेको आयोगको बताइएको छ ।
अभियोगमा तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसँग १२ करोड ४७ लाख २२ हजार २४२ रूपैयाँ बिगो दाबी गरिएको छ । त्यस्तै अन्य प्रतिवादीहरू तत्कालीन निमित्त महाप्रबन्धकहरू महेश प्रसाद काफ्लेसँग १२ करोड ६३ लाख ६९ हजार १६८ रुपैयाँ, नवलकिशोर शाहसँग ४६ करोड ५२ लाख ७४ हजार ४२६ रूपैयाँ बिगो दाबी गरिएको छ । तत्कालीन उत्पादन महाशाखा प्रमुख संजय कुमार लाल, तत्कालीन भण्डार महाशाखा प्रमुख महेशप्रसाद साह, तत्कालीन क्लिङ्कर उत्पादन विभाग प्रमुखरवीचन्द्र पौडेल, तत्कालीन सिमेन्ट उत्पादन विभाग प्रमुख हरिप्रसाद अधिकारी र तत्कालीन बिक्री विभाग प्रमुख रामबहादुर जीसीसँग पनि जनही ४६ करोड ५२ लाख ७४ हजार ४२६ रुपैयाँ २६ पैसा बिगो दाबी गरिएको छ ।