काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डेढ लाख निर्वाचन प्रहरी छनोट भएका छन् । फागुन २१ मा हुने निर्वाचन सुरक्षामा ४० दिन कार्यावधि तोकेर नेपाल प्रहरी मातहत खटिने गरी १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी बल (एपीएफ) अन्तर्गत १५ हजार १ सय १० गरी कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी छनोट गरिएका हुन् । छनोट भएका निर्वाचन प्रहरीलाई आइतबार बाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले परिचालन हुने सम्बन्धित युनिटबाट तालिम दिन सुरु भएको छ ।
तालिम सुरु भएकै दिनबाट नियुक्ति गणना गरेर ४० दिन कार्यावधि तोकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरी मातहत खटिनेले प्रहरीबाटै र सशस्त्र मातहत खटिनेलाई सशस्त्रबाटै निर्वाचन प्रहरी आधारभूत सुरक्षा तालिम दिइनेछ । १० दिन तालिम दिएर निर्वाचन प्रहरीलाई फिल्डमा प्रहरी र सशस्त्र प्रहरीसँगै एकसाथ खटाइनेछ ।
प्रहरीका अनुसार निर्वाचन प्रहरीलाई आधारभूत सुरक्षा तालिमअन्तर्गत आफूभन्दा माथिल्लो तहका प्रहरीलाई गर्ने शिष्टाचार ९जय नेपाल० कसरी गर्ने, शारीरिक पोजिसन कसरी मिलाउने, फिल्डमा सर्वसाधारणसँग कस्तो व्यवहार गर्नेजस्ता विषयको अनुशिक्षण गराइनेछ । त्यस्तै चुनावलाई लिएर कुनै पनि व्यक्तिगत धारणा दिन नहुने, पक्षरविपक्षमा गतिविधि गर्न नहुने, प्रहरीले आधारभूत रुपमा गर्ने व्यवहारबारे जानकारी गराउने जस्ता विषय पनि १० दिनको तालिम अवधिमा सिकाइनेछ ।