काठमाडौं । निर्वाचन आयोगले बाजुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हेमराज थापालाई स्पष्टीकरण सोधेको छ। उनी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रत्यक्षतर्फ उम्मेदवार छन्।
थापाले दिएको अभिव्यक्तिसम्बन्धी उजुरी परेपछि आयोगले स्पष्टिकरण माग गरेको हो। उनको भनाइ सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो।
आयोगका अनुसार बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँलाई लक्षित गरी अपमानजनक शब्द प्रयोग गरिएको भन्दै उजुरी दर्ता भएको छ। सोही आधारमा आयोगले थापासँग जवाफ माग गरेको जनाएको छ।
यस विषयमा मुख्यमन्त्री बानियाँले पनि थापामाथि आरोप लगाउँदै कानुनी प्रक्रिया अपनाउने संकेत गरेका छन्।
थापाले सडक निर्माण ढिलाइ भएको विषय उठाउँदै मुख्यमन्त्री बानियाँलाई लक्षित गरी अभिव्यक्ति दिएका थिए। त्यसको जवाफमा मुख्यमन्त्री बानियाँले सम्बन्धित सडकको ठेक्का अवधि २०८४ सालसम्म रहेको र हिउँदको समयमा निर्माण कार्य कठिन हुने बताएका छन्। साथै आफू उक्त ठेक्का प्रक्रियासँग हाल सम्बन्धित नरहेको दाबी गरेका छन्।
निर्वाचन आयोग स्रोतका अनुसार थापालाई तीन दिनभित्र स्पष्टीकरण पेश गर्न समय दिइएको छ।