काठमाडौँ । ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाले उहाँहरुको उहाँहरुको स्वास्थ्य अवस्था सर्वेक्षणको काम आज आइतबार देखि सुरु गरेको हो । सर्वेक्षणका लागि घरघरमा जाने नर्सिङ् कर्मचारीका लागि तालिमपछि स्वास्थ्य परीक्षण गर्ने सामग्री, औषधि र सर्वेक्षण गर्ने ट्वाबलेटसहितका साधन प्रदान गरिएको छ ।
सर्वेक्षणमा जाने स्वास्थ्यकर्मीलाई अपेक्षित नतिजाका विषयमा कुरा गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘यो तपाईँहरुको पदीय जिम्मेवारी मात्र होइन । मानवीय सेवाको काम पनि हो । त्यसैले जिम्मेवारी पूरा गर्न होइन । कोही नभएका र केही नभएका ज्येष्ठ नागरिकलाई हाम्रा लागि पनि कोही रहेछन् । पर्दा सहयोग पाइने रहेछ भन्ने मनदेखि नै अनुभूति गराउने आचरण गर्नुहोला ।’ उहाँले कुनै पनि प्रकारबाट नतिजा प्राप्त गर्नुमा जोड दिँदै भन्नुभयो, ‘आपत टार्ने पैसा नहुँदा, अप्ठ्यारो पर्दा साथ दिने कोही नहुँदा तपाईँले सोचेको जस्तो व्यवहार ज्येष्ठ नागरिकबाट प्राप्त नहुन सक्छ । यसलाई स्वभाविक ठान्नु । उहाँहरुलाई सम्झाउनु बुझाउनु, सहज वातावरण बनाएर काम गर्नु ।’
जसको केही छैन अर्थात् आर्थिक अवस्था कमजोर छ । जसको कोही छैन अर्थात सम्पत्ति छ तर सहयोग गर्ने परिवारका सदस्य कोही साथमा छैनन् । त्यस्ता ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर घरमै सेवा दिने लक्ष्यसहित सर्वेक्षण थालनी हुन लागेको हो । शारीरिक अशक्तता भएका कारण, दीर्घ रोगका कारण हिँडडुल गर्न नसक्ने तथा स्वास्थ्य उपचारका लागि नियमित स्वास्थ्य संस्थामा जान नसक्ने ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्न तथा उपचार गर्न घरमै स्वास्थ्यकर्मी पठाउने र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य सहित सर्वेक्षणको काम प्रारम्भ भएको हो ।
सर्वेक्षणमा जाने नर्सिङ् कर्मचारीहरुलाई ५ दिनको अभिमुखीकरण प्रदान गरिसकिएको छ । यस्तै सर्वेक्षणका क्रममा स्वास्थ्य जाँच गर्ने साधन तथा उपकरण प्रदान गरिसकिएको छ । स्वास्थ्य जाँच गर्न प्रदान गरिएका सामग्रीहरुमा ब्लडप्रेसर मोनिटर, ग्लुकोमिटर, डिजिटल थर्मोमिटर पल्स अक्सिमिटर, स्वास्थ्य अभिलेख फाराम, भेटको लगबुक, तथ्याङ्क भर्ने ट्याब्लेट छन् । यस्तै स्टेराइल गज, ब्यान्डेज, एन्टिसेफ्टिक व्यान्डेज, ट्रयाङगुलर व्यान्डेजm क्रेप व्यान्डेज, एन्टिसेफ्टिक वाइप, कपास, मेडिकल टेप, स्टेराइल ड्रेसिङ् सेट दिइएको छ । पाराासिटामोलm आइबुप्रोफेन, एन्टिसेफ्टिक घोल, एन्टासिड ट्याब्लेट, ओरल रिहाइड्रेसन सोलुसन, पोलेको ठाउँमा लगाउने मलम, एलर्जीका लागि एन्टिहिस्टामिन चक्कीसहित औषधि दिइएको छ ।
यो सेवामा औषधि व्यवस्थापन र पोषण परामर्श गरिन्छ । मानसिक र सामाजिक अवस्था बलियो बनाउन घरपरिवार भेटघाट तथा संवाद कार्यक्रम सञ्चालन हुन्छ । दीर्घ रोग नियन्त्रण गर्ने प्रयास गरिन्छ । आकस्मिक अवस्थाका लागि छिटो उपचार पाउने रिफरल प्रणाली विकास गरिन्छ । कार्यक्रमका उद्देश्यका विषयमा स्वास्थ्य विभागका प्रमुख दिपक के। सी। ले जानकारी दिनुभयो । यस्तै व्यायाम, मानसिक स्वास्थ्य, सरसफाइका विषयमा परामर्श दिइन्छ । यसरी संकलन गरिएको तथ्याङ्कका आधारमा भविष्यमा ज्येष्ठ नागरिकका जोखिम न्यूनीकरणका बजेट, योजना तथा कार्यक्रम तर्जुमालाई वास्तविक बनाउनेछ । ज्येष्ठ नागरिकप्रति सहयोगी भावनामा वृद्धि हुनेछ ।
कार्यक्रमका फोकल पर्सन अस्पताल नर्सिङ् निरीक्षक कल्पना श्रेष्ठ भन्नुहुन्छ, ‘ज्येष्ठ नागरिकलाई सजिलै भेट्न र आवश्यकता अनुसार कुरा गर्ने वातावरणका लागि वडा कार्यालय र महिला स्वास्थ्य स्वयमसेविकासँग समन्वय गर्नेछौँ । उहाँहरुसँग ज्येष्ठ नागरिक रहनु भएको घरमा रहने वा छिमेकीबाट पनि सहयोग आवश्यक हुन्छ । यो सहयोग पाउने आशा गरेका छौँ ।’