काठमाडौँ । खानेतेल (भटमास र सूर्यमुखी) को भाउ अस्वाभाविक रूपमा बढेको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार एक सातायता खानेतेल प्रतिलिटर ४० रुपियाँसम्म बढेको हो । माघको पहिलो सातासम्म प्रतिलिटर २४० रुपियाँ खुद्रामा बिक्री भइरहेको खानेतेल अहिले प्रतिलिटर २८५ देखि २९० रुपियाँसम्म पुगेको छ ।
सङ्घका कोषाध्यक्ष वसन्त महर्जनले खानेतेलको भाउ अस्वाभाविक रूपमा बढेकाले कारोबार गर्न नै समस्या रहेको गुनासो गरे । ससानो पुँजी लगानी गरेर आमउपोक्ताको घरछेउसम्म सेवा दिने हामी व्यवसायीले दिनदिनै भाउ बढ्यो भनेर उपभोक्तासँग कसरी कारोबार गर्ने रु उनले प्रतिप्रश्न गरे ।
सो सङ्घका वरिष्ठ उपाध्यक्ष नरेश खड्गीले अस्वाभाविक रूपमा दिनैपिच्छे भाउ बढ्दा व्यवसायी दोहोरो मारमा परेको गुनासो गरे ।नेपाल खाद्य किराना तथा थोक व्यापार सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले नेपालमा तेल उत्पादन उद्योगले नेपालका लागि उत्पादन गरेको तेल भारतमा पठाउन थालेपछि भाउ बढेको बताए ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रोशन ज्ञवालीले खानेतेलको मूल्य बढेको भन्ने गुनासोका आधारमा बजार अनुगमन भइरहेको र यसको कारणबारे बुझ्न तेल उत्पादक उद्योगीलाई विभागमा उपस्थिति हुन पत्राचार भएको जानकारी दिए ।
अनुगमनका क्रममा कच्चा पदार्थ महँगो भएर मूल्य बढेको भन्ने कुरा आएको छ तर दिनदिनै भाउ बढ्नुलाई स्वाभाविक रूपमा लिन नसिकएकाले उद्योगीलाई पत्राचार गरेको उनले जानकारी दिए ।