काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल चारदिने जापान भ्रमणको सिलसिलामा आइतबार माघ १८ गते त्यसतर्फ प्रस्थान गर्दै छन् । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवको उपलक्ष्यमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल जापान जान लागेका हुन् ।
राष्ट्रपति पौडेलको जापान भ्रमण माघ १८ देखि २१ गतेसम्म हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट् नारुहितोसँग राजकीय भेटवार्ता गर्ने कार्यक्रम तय छ । राष्ट्रपति पौडेलसँग माघ २० गते नै टोकियोमा जापानका प्रधानमन्त्री ताकाइची सानेले भेटवार्ता गर्ने कार्यक्रम छ ।
यसअघि माघ १९ गते राष्ट्रपति पौडेल जापान सरकारका तर्फबाट जापानका विदेश राज्यमन्त्री होरी इवाओले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव मनाउन आयोजना गरेको विशेष समारोहमा सहभागी हुनेछन् । माघ १९ गते नै जापानका विदेश राज्यमन्त्रीले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा राष्ट्रपति पौडेलसँग जापानी व्यापारिक समुदायले पनि भेटघाट गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल टोकियोस्थित नेपाली दूतावासले उनको सम्मानमा आयोजना गर्ने कार्यक्रममा पनि सहभागी हुनेछन् । जापान भ्रमणमा राष्ट्रपतिका साथमा उनकी श्रीमती सविता पौडेल, उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी हुनेछन् । राष्ट्रपति पौडेलको माघ २१ काठमाडौं फर्कने कार्यक्रम छ ।