काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तर्राष्ट्रिय पर्यवेक्षणका लागि चार विदेशी संस्थालाई निर्वाचन आयोगले अनुमति दिएको छ।
आयोगका अनुसार पर्यवेक्षण गर्न स्वीकृति पाउने संस्थाहरूमा द कार्टर सेन्टर (अमेरिका), एसियन नेटवर्क फर फ्रि इलेक्सन (एन्फ्रेल), इन्टरनेशनल रिपब्लिकन इन्स्टिच्युट (आइआरआइ) र द मल्टी डिसिप्लिनरी इन्स्टिच्युट अफ ट्रेनिङ एन्ड लर्निङ (म्यासाचुसेट्स) रहेका छन्।
द कार्टर सेन्टरले यसअघि नेपालमा २०६४ र २०७० सालको संविधानसभा निर्वाचन तथा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनको पर्यवेक्षण गरेको थियो। यस संस्थाले विश्वका विभिन्न देशमा निर्वाचन प्रक्रिया अनुगमन गर्दै आएको छ।
एन्फ्रेल एशियाली क्षेत्रका निर्वाचन प्रक्रियाको पर्यवेक्षण तथा प्रवर्द्धन गर्ने क्षेत्रीय सञ्जाल हो। यसले नेपालका अघिल्ला निर्वाचनहरूमा पनि सहभागी भई समावेशिता, महिला तथा अल्पसंख्यक सहभागिता लगायत विषयमा ध्यान दिएको थियो।
इन्टरनेशनल रिपब्लिकन इन्स्टिच्युट अमेरिकी गैरनाफामूलक संस्था हो, जसले लोकतान्त्रिक अभ्यास र नागरिक सहभागिता प्रवर्द्धनमा काम गर्दै आएको छ। यस संस्थाले पहिलो पटक नेपालको निर्वाचन प्रत्यक्ष रूपमा पर्यवेक्षण गर्न अनुमति पाएको हो।
त्यस्तै, द मल्टी डिसिप्लिनरी इन्स्टिच्युट अफ ट्रेनिङ एन्ड लर्निङ म्यासाचुसेट्सले पनि यसपटक नेपालको निर्वाचन प्रक्रियाको पर्यवेक्षण गर्नेछ। यस संस्थाले यसअघि नेपालमा मानवीय सहायता तथा तालिमसम्बन्धी गतिविधिमा संलग्न रहेको विवरण छ।
निर्वाचन आयोगका अनुसार यी संस्थाहरूले मतदान प्रक्रिया, मतगणना तथा समग्र निर्वाचन वातावरणको अनुगमन गर्नेछन्। आयोगले अन्तर्राष्ट्रिय पर्यवेक्षणले निर्वाचनलाई पारदर्शी र विश्वसनीय बनाउन सहयोग पुग्ने अपेक्षा गरेको जनाएको छ।