अमेरिका । अमेरिकास्थित नेपाली दूतावासले संयुक्त राज्य अमेरिकामा बसोबास गरिरहेका नेपाली नागरिकलाई त्यहाँको कानुन र नियमअनुसार मात्र गतिविधि गर्न आग्रह गरेको छ।
दूतावासले बिहीबार जारी गरेको सार्वजनिक सूचनामा अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा आफन्त भेटघाटका प्रयोजनमा अमेरिका आएका विदेशी नागरिकले अवैधानिक तरिकाले वा गलत विवरण पेस गरेर अमेरिकी सरकारले आफ्ना नागरिकका लागि उपलब्ध गराउने सुविधाहरू उपयोग नगर्न अनुरोध गरेको छ।
सूचनामा भनिएको छ, अमेरिकी सरकारले आफ्ना नागरिकका लागि व्यवस्था गरेको स्वास्थ्य सेवा, आवास सहायता, पारिवारिक सहयोग तथा शैक्षिक सहायता जस्ता सुविधामा गैरकानुनी रूपमा निर्भर भएको पाइएमा सम्बन्धित व्यक्तिको भिसा वा ग्रिनकार्डको हैसियतमा प्रत्यक्ष असर पर्न सक्ने र खारेजसमेत हुन सक्ने जानकारी अमेरिकी निकायबाट प्राप्त भएको उल्लेख गरिएको छ।
दूतावासका अनुसार सन् २०२४ मा अमेरिकी सरकारका सहुलियतपूर्ण सेवामा निर्भर हुने सूचीमा नेपाली नागरिकहरूको संख्या उच्च देखिएको थियो। सोही आधारमा अमेरिकाले नेपाली नागरिकका लागि आप्रवासी भिसा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको सम्बन्धमा यसअघि सार्वजनिक सूचना जारी गरिसकेको पनि दूतावासले स्मरण गराएको छ।
दूतावासले अमेरिकामा रहेका नेपालीहरूलाई अवैध तरिकाले वा गलत जानकारी दिएर सहुलियतपूर्ण स्वास्थ्य सेवा, आवास, पारिवारिक सहयोग तथा शैक्षिक सहायता जस्ता सेवामा निर्भर नहुन आग्रह गरेको छ।
त्यसैगरी, व्यापारिक तथा पर्यटकीय प्रयोजनका लागि प्रदान गरिने ‘बी–१’ र ‘बी–२’ भिसाको दुरुपयोग नगर्न पनि अनुरोध गरिएको छ। पछिल्लो समय अमेरिकी सरकारले विभिन्न प्रकारका भिसामा निगरानी र कडाइ बढाएको दूतावासले जनाएको छ।