काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार हाल देशभर रहेका ५५ वटा विमानस्थलमध्ये २१ वटा सञ्चालनमा छैनन्। तीमध्ये ३ वटा अन्तर्राष्ट्रिय र ५२ वटा आन्तरिक विमानस्थल हुन्। आन्तरिकतर्फ ३४ वटा विमानस्थल मात्र नियमित रूपमा प्रयोगमा छन् भने बाँकी २१ वटा बन्द अवस्थामा रहेका छन्।
हाल सञ्चालनमा नआएका विमानस्थलहरूमा बलेवा, बैतडी, चौरजहारी, दार्चुला, ढोरपाटन, डोटी, पालुङटार, जिरी, कालिकोट, कमलबजार, कागेलडाँडा, खिजी चण्डेश्वरी, लाङटाङ, लामिडाँडा, महेन्द्रनगर, मनाङ, मसिनेचौर, मेघौली, रोल्पा, स्याङ्बोचे र टिकापुर रहेका छन्।
प्राधिकरणका अनुसार विमानस्थल बन्द हुनुको मुख्य कारण पर्याप्त जहाजको अभाव हो। विमानस्थल थपिँदै गए पनि वायुयानको संख्या बढ्न नसक्दा सबै स्थानमा उडान सम्भव नभएको जनाइएको छ। विगतमा नेपाल एयरलाइन्ससँग धेरै जहाज रहे पनि समयसँगै संख्या घट्दै गएको र निजी वायुसेवा कम्पनीहरूले पनि आवश्यक मात्रामा जहाज थप्न नसकेको अवस्था छ।
दुर्गम क्षेत्रमा भएका दुर्घटनापछि उडान जोखिम बढ्नु र नियमित उडान नहुनु पनि अर्को कारण मानिएको छ। उडान कम हुँदा यात्रु घट्ने र यात्रु घटेपछि उडान अझै सीमित हुने अवस्था सिर्जना भएको प्राधिकरणको भनाइ छ।
यात्रुको माग, उडान सम्भाव्यता र दीर्घकालीन योजना नबनाई विमानस्थल निर्माण गर्दा ती संरचना प्रयोगविहीन बन्ने गरेको देखिएको छ। कतिपय अवस्थामा सम्भाव्यता अध्ययनभन्दा राजनीतिक इच्छाअनुसार विमानस्थल निर्माण गरिएको आरोप पनि लाग्दै आएको छ।
दुर्गम क्षेत्रमा हवाई सेवा प्रभावकारी बनाउन जहाज आयातमा सहुलियत, इन्धन तथा पार्टपुर्जामा छुट दिनुपर्ने र त्यस्ता क्षेत्रमा उडान गर्ने कम्पनीलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता रहेको प्राधिकरणले जनाएको छ। यस्ता उपाय नअपनाएसम्म बन्द रहेका विमानस्थल पुनः सञ्चालनमा ल्याउन कठिन हुने बताइएको छ।