काठमाडौँ । भारतीय नागरिकलाई नागरिकता दिलाउन गलत लिखत तयार गरेको अभियोगमा दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतले सबै प्रतिवादीलाई सफाइ दिएको छ।
न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बुधबार फैसला सुनाउँदै उक्त मुद्दामा संलग्न भनिएका २२ जनालाई दोषी ठहर गर्न पर्याप्त आधार नदेखिएको जनाउँदै सफाइ दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतीय नागरिक अनुप मेहरालाई प्रेमशरण खत्रीको छोरा अनुपकुमार खत्री भनी सिफारिस गरेर नेपाली नागरिकता दिलाइएको आरोप लगाउँदै पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–५ का तत्कालीन वडाध्यक्ष ओमप्रकाश तेलीसहित २२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
उक्त मुद्दामा वडासदस्य नरेशप्रसाद बढई, भारतीय नागरिकलाई आफ्नो भाइ भनी गलत सर्जमिनमा हस्ताक्षर गरेको आरोप लागेका रविकुमार खत्री तथा मजिद जोलाहा, पूर्णमासी अहिर, प्रेमसागर चौधरी, वृजभूषणनाथ योगी, नारद कुर्मी, कपिलदेव कुर्मी, राधेश्याम बनियाँ र पशुपति बनियाँ प्रतिवादी थिए।
त्यसैगरी बसोबास प्रमाणित गर्ने मुचुल्कामा हस्ताक्षर गरेको आरोप लागेका सोमै कहार, भगौती चमार, पूर्णमासी अहिर, प्रेमसागर चौधरी र मजिद जोलाहा पनि प्रतिवादी थिए। साथै, गलत स्थलगत सर्जमिन मुचुल्कामा हस्ताक्षर गरेको अभियोगमा सेतवाध यादव, रमेश सहनी, संघर्षकुमार खत्री, भगौती चमार र हरिशंकर बनियाँलाई मतियारका रूपमा अभियोग लगाइएको थियो।
अख्तियारले उनीहरूविरुद्ध २० भदौ २०८१ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अदालतले प्रमाणका आधारमा अभियोग पुष्टि हुन नसकेको ठहर गर्दै सबैलाई सफाइ दिएको हो।