तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा भएको स्कुटर दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार बिहीबार बिहान करिब ८ः३५ बजे पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग १२ प ४७६९ नम्बरको स्कुटर अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो।
दुर्घटनामा स्कुटर चालक म्याग्दे गाउँपालिका–३ पसलेका २७ वर्षीय पुरन राना मगर घाइते भएका छन्। उनको नाकबाट रगत बगेको र घाँटी, छाती तथा खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौलीमा भर्ना गरिएको छ।
त्यस्तै, स्कुटरमा पछाडि सवार चितवनको भरतपुर महानगरपालिका–१६ निवासी २७ वर्षीया सुमित्रा थापा मगर टाउकोमा गम्भीर चोट लागेर घाइते भएकी थिइन्। उपचारका क्रममा बिहान करिब ८ः५५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।