काठमाडौँ । बाक्लो हुस्सु तथा कुहिरोका कारण काठमाडौँसहित देशका विभिन्न विमानस्थलमा बुधबार बिहानदेखि उडान अवरुद्ध भएको छ।
बुद्ध एयरका अनुसार काठमाडौँ, विराटनगर, राजविराज, नेपालगन्ज, धनगढी, सुर्खेत र तुम्लिङटार विमानस्थलमा हालसम्म उडान सञ्चालन हुन सकेको छैन। दृश्यता कम भएकाले उडान र अवतरण प्रभावित भएको कम्पनीले जनाएको छ।
विमानस्थल स्रोतका अनुसार मौसममा सुधार आएपछि उडान तथा अवतरण क्रमशः सञ्चालन गरिनेछ। बाक्लो कुहिरोका कारण यात्रुहरूलाई वैकल्पिक व्यवस्था अपनाउन तथा एयरलाइन्ससँग सम्पर्कमा रहन अनुरोध गरिएको छ।