भक्तपुर । भक्तपुरको कमलविनायक बसपार्क नजिक भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्।
प्रहरीका अनुसार बुधबार राति कमलविनायकबाट च्यामासिंहतर्फ जाँदै गरेको बा ५५ प १७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई लड्दा सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२० प ११६८ नम्बरको स्कुटरसँग ठोक्किएको थियो। त्यसलगत्तै विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०१–००३ क ६२९१ नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ।
दुर्घटनामा स्कुटर चालक भक्तपुर नगरपालिका–८ का २६ वर्षीय बिमल वनमाला गम्भीर घाइते भएका थिए। उपचारका लागि भक्तपुर अस्पताल लगिएका उनको टाउकोमा गम्भीर चोट लागेको थियो र उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
यस्तै, मोटरसाइकल चालक भक्तपुर नगरपालिका–७ इनाचोका २४ वर्षीय राजेश वनमाला घाइते भएका छन्। उनको ललितपुरस्थित बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि फरार रहेका टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय राजकुमार माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न मोटरसाइकल, स्कुटर र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।